धनगढी- सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको बैठक र सभामुख चयनको प्रक्रिया अनिश्चित बनेको छ। हिजो (शुक्रवार) बिहान ११ बजेका लागि प्रदेश सभा बैठक बोलाइएकोमा बस्न नसकेपछि बैठक र सभामुख चयनको प्रक्रिया अनिश्चित बनेको हो। हिजो अनिश्चित समयकालको लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउनेबारे छलफल गर्न आज (शनिवार) बिहान ११ बजे फेरि सर्वदलीय बैठक बोलाईएको छ। सो बैठकले प्रदेश सभा बैठक संचालन र सभामुख चयनका लागि मतदान गर्ने सवालमा निर्णय लिने बताइएको छ।
अस्ति (बिहीवार) साँझ भएको मतदानमा सभामुखमा कसैको पनि बहुमत पुग्न नसकेपछि हिजो बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो। तर, हिजोको सर्वदलीय बैठकमा कांग्रेसले निर्वाचन प्रक्रिया सुरुबाट गर्नुपर्ने भनेपछि सहमति हुन सकेको थिएन। बिहीबार नागरिक उन्मुक्तिका एक सांसद प्रदेश सभामा उपस्थित नहुँदा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका भीमबहादुर भण्डारीले सभामुखका लागि बहुमत जुटाउन सकेका थिएनन्।
यस्तै गठबन्धनको एक मत बदर भएको थियो भने एमालेका चक्र मल्ल बैठकमा सहभागी भएका थिएनन्। सभामुखको मत विभाजनमा भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ। प्रदेश सभामा कांग्रेसका १९, माअोवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १/१ छन्। पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएको मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए। दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन्।
कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए। त्यसैबिच हिजो प्रदेश सभा बैठक बोलाएर सभाध्यक्ष शिवराज भट्ट आफू सम्पर्कविहीन भएका थिए। त्यसपछि प्रदेश सभा बैठक नै अनिश्चित बनेको थियो। तर, आज सभाध्यक्ष भट्ट सम्पर्कमा आएका छन्। उनले उनले आगामी संसद बारे छलफल गर्न ११ बजे सर्वदलीय बैठक डाकिएको जानकारी दिए। यहाँ सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ। यो समय माघ २ गते पुरा हुन्छ। माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ। तर सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा कसैले बहुमत नपुगाउँदा माघ २ भित्रै सभामुख र उपसभामुख चयन गर्न समेत सकस पर्ने देखिएको छ।