धनगढी: सुदूरपश्चिम प्रदेशमा गठबन्धन फुटाउने नेकपा एकीकृत समाजवादीको जाल निष्प्रभावी बनेको छ। सुदूरपश्चिममा प्रदेश सरकार गठन भएसङ्गै नेकपा एकीकृत समाजवादी, नेपाली काङ्ग्रेस र स्वतन्त्र निर्वाचित भएका प्रदेश सभा सदस्यले गठबन्धन फुटाएर सरकार ढाल्ने खेलोमेलो गर्न थालेका थिए। उनीहरुले त्यसका लागि निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीलाई प्रभावमा पार्नेदेखि विभिन्न किसिमका अफरहरु समेत गरेका थिए।
तर, अन्ततः त्यो उनीहरुको जोडबल बेकार बनेको छ। अहिले सत्तारुढ गठबन्धनमा दलहरु एकमत देखिएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेश सभा सदस्यहरुले एकमतका साथ सभामुख, उपसभामुख र सरकार गठनको प्रक्रिया लगभग सकाएका छन्। अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सभामुख पाएको छ। नेकपा एमालेले उपसभामुख पाएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा नगएरै समर्थन जनाएको छ।
त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सहमति अनुसार सरकारको सानो आकारको मन्त्रीपरिषद पनि निर्माण गरेका छन्। अहिलेसम्म एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २ मन्त्री मात्र नियुक्त गरेका छन्। तर, उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन। यस्ता मन्त्रीहरुमा एमालेकी सन्तोष शर्मा थापा र माओवादीका खगराज भट्ट रहेका छन्।
छिट्टै उनीहरुको मन्त्रालय र मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री निकटस्थ स्रोतले जनाएको छ। स्रोतका अनुसार सरकार ढाल्ने खेलमा एकीकृत समाजवादीका नेताहरु सकृय रहेको तर हाललाई त्यो संभावना टरेको छ।
एमाले नेताहरुले एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीलाई सरकार र गठबन्धनविरुद्ध लागेको आरोप लगाएका छन्। यतिमात्र होइन, उनले प्रदेश सभा बैठकमै मुख्यमन्त्री रावलको राजीनामा समेत मागेका थिए। सोडारी पूर्व एमाले नेता समेत हुन्। तत्कालीन नेकपा विभाजनका बेला उनी समाजवादीतिर हानिएका थिए। उनी सुदूरपश्चिममा चतुर नेताका रुपमा चिनिन्छन्।