काठमाडौं – नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।
उनलाई उम्मेदवार बनाउने निर्णय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितको बैठकले बुधबार गरेको हो ।
सभापति देउवा, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र प्रमुख सचेत रमेश लेखकसहितले बैठकले न्यौपानेको नामलाई औपचारिकता दिएको हो ।
त्यसपछि न्यौपाने उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वर पुगेकी हुन् । न्यौपाने प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग भिड्ने छिन् ।
न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् । उनी २०७४ को आमनिर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा हाल जेलमा रहेका रेशम चौधरीसँग पराजित भएकी थिइन।
सभामुखको उम्मेदवार टुङ्गो लगाउन कांग्रेसले बुधबार बिहानै देखि छलफल सुरु गरेकबो थियो । कांग्रेसले सत्ता बाहिर रहेको नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी (जसपा) अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए ।