धनगढीः डोटीमा ६ जनाको ज्यान जाने गरी भूकम्प आएको अढाई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारको पुनःस्थापनाको काममा तदारुकता देखाउन सकेको छैन।
सयौं घरहरू क्षतीग्रस्त हुँदा भूकम्पपीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्तिबारे विस्तृत तथ्यांकसमेत संकलन गर्न सकेको छैन। कठ्यांग्रिँदो चिसोमा त्रिपालमुनि ओत लगाएर बस्न बाध्य रहेको डोटीको पूर्वीचौकी गाउँपालिका– ३ काडामाडौका पदम बोहराले दुखेसो सुनाए।
‘राहत ल्याउनेहरू लुगाफाटो र त्रिपाल बोकेर मात्र आउँछन्, टाउको निहुराउने घर पुनर्निर्माण गरिदिए सहयोग हुने थियो’, पूर्वीचौकी ३ गैरागाउँकी लक्ष्मी बोहराले दुखेसो गरिन्, ‘चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या भइसकेको छ।’
स्थानीय तहहरूले पठाएको प्रारम्भिक विवरणका आधारमा राहतका सामग्री वितरण भएपनि ती तथ्यांकहरूमा पूर्ण विश्वस्त रहन सक्ने आधार नरहेको सरोकारवाला बताउँछन् । ‘स्थानीयको दबाबमा जनप्रतिनिधिहरूले न्यून क्षति भएकालाई पनि पूर्ण क्षतिग्रस्तको सूचीमा राखेर पठाउँदा वास्तविक पीडित पहिचान गर्न कठिनाइ भएको छ’, एक गैरसरकारी संस्थाका पदाधिकारीले आरोप लगाए ।
पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा कात्तिक २२ गतेको भूकम्पले बढी क्षति गरेको थियो ।
डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले क्षतिपूर्तिको विस्तृत सर्भेका लागि पुनर्निर्माण प्राधिकरणको प्राविधिक टोली घटनास्थल खटिएको बताइन् । निर्वाचनका कारण समयमै माथिबाट टोली आउन नसक्दा क्षतिपूर्तिको तथ्यांक संकलनमा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । प्राधिकरणको टोलीले क्षतिग्रस्त ठाउँहरूको विस्तृत सर्भे गरेपछि मात्र वास्तविक पीडितको पहिचान हुन सक्ने बताइन् ।
केही दातृ संस्थाहरूले भने ढिलो गरी डोटीमा भूकम्पपीडितहरूका लागि अस्थायी घर निर्माण थालनी गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले आउँदो महिनासम्म सम्पन्न हुने गरी २ सय अस्थायी घर बनाउने तयारी थालेको छ । रेडक्रस सोसाइटीका आवास अधिकृत विजय ढकालले पालिका र जिल्ला प्रशासनको अनुमति लिएर पीडितहरूको तथ्यांक संकलन गरी पूर्वीचौकी गाउँपालिका— ३ गैरामा अस्थायी घर बनाउन सुरु भएको बताए । १ कोठा, १ भान्सा र १ बरन्डा भएको अस्थायी घर बनाउन रेडक्रसले ९८ हजार रुपैयाँ पीडित परिवारलाई सहयोग गर्ने भएको छ ।