धनगढीः धनगढीको बेलामा रहेको बेलादेवीपुर धाममा महायज्ञ आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको बेलादेवी धाममा अगामी माघ ११ गतेदेखि शिवपुराण एकादशाह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृंगारिक महाआरती हुने भएको हो ।
बिहीबार धाममा पत्रकार सम्मेलनको आयोजना गर्दै बेलादेवीपुर धाम व्यवस्थापन समितिले महायज्ञबारे जानकारी दिएको हो । व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीले माघ २५ गतेदेखि मंसिर ६ गतेसम्म धाममा महायज्ञ आयोजना गरिन लागेको जानकारी दिए ।
शेष शैयामा शयन गरेका लक्ष्मीनारायणको ठूलो मूर्ती निर्माणार्थ सांस्कृति महोत्सव नाम दिएर महायज्ञ आयोजना गरिरहेको उनको भनाई छ । जोशीकाअनुसार महायज्ञ व्यवस्थापन र सञ्चालनमा करीब १० लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।
महायज्ञमा प्रमुख पुराण बाचक पुर्णानन्द जोशीको मुखार बिन्दुबाट मुलपाठ वाचन हुने, पुराण वाचक बालव्यास पुरोणोपासक पण्डित सत्यराज अवस्थीले संगितमय प्रवचन दिने आयोजकले जनाएको छ ।
गोदावरी धामबाट जल ल्याएर धनगढीको लक्ष्मीनारायण मन्दिर हुँदै बेला धामबाट बेलागाउँ देवीपुर टोल, नजरिया मष्टा मन्दिर परिक्रमा गरी कलश यात्रा गर्ने कार्यक्रम पनि तय गरिएको छ । महायज्ञ अवधीभर ब्रतबन्ध गर्न पाइने, तुला दान गर्न सकिने, चौरासी पुजा गर्न सकिने, यज्ञको कलश ग्रहण तथा महाआरतीकर्ता बन्न सकिने आयोजकले जनाएको छ ।