एजेन्सीः बंगलादेश–भारत तटरक्षकबीचको सहकार्यमा भारतीय तटरक्षक गार्डका दुई जहाजलाई त्यहाँको बन्दरगाह चटगाउँमा भव्य स्वागत गरिएको छ। दुई देशका तटीय गार्डहरूबीच जारी घनिष्ठ सहयोग र सम्बन्धको रूपमा छ दिने भ्रमणमा भारतीय तटरक्षक गार्डका दुई जहाज चटगाउँ पुगेको बखत उक्त स्वाग गरिएको बताइएको छ।
गत शुक्रबार इन्डियन कोष्ट गार्ड शौर्य र राजवीरलाई चटगाउँ बन्दरगाहमा बंगलादेशको तटरक्षक बलले न्यानो स्वागत गरेको ढाकास्थित भारतीय उच्चायोगले जनाएको छ। इन्डियन कोस्ट गार्ड शौर्य प्राविधिक रुपले सुसम्पन्न गस्ती जहाज भएको भारतीय दाबी छ। त्यो गोवा शिपयार्ड लिमिटेडद्वारा डिजाइन र निर्माण गरिएको हो। त्यसमा चेतक र विकसित लाइट हेलिकप्टर सबै उडान र अवतरण गर्न सक्छन्।
इन्डियन कोस्ट गार्ड राजवीर गार्डेन रिच शिपबिल्डर्स, कोलकाताद्वारा डिजाइन र निर्माण गरिएको गस्ती जहाज भएको भारतीय पक्षले बताएको छ। यसमा उच्चस्तरका नेभिगेसन र संचार उपकरण, सेन्सर र अन्य उपकरणहरू जडान गरिएका छन्।
गत आइतबार भारतीय नौसेनाको जहाज आईएनएस दिल्ली श्रीलंकासँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले त्रिंकोमाली बन्दरगाह पुगेको थियो। दुई दिने आधिकारिक भ्रमणमा श्रीलंकाको उत्तरपूर्वी बन्दरगाह सहर त्रिन्कोमाली पुग्दा श्रीलंकाली नौसेना अधिकारीहरूले जहाजलाई स्वागत गरेका थिए।