काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ। यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’
भेटमा प्रधानमन्त्रीले मानवीय सेवाका लागि डा. रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उँचो राखेको बताए । उनले भे, ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ । मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो।’
प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
डा रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चासमेत गरे ।