काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको सत्ता गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन स्पष्ट बहुमत रहेको छ ।
सत्ता गठबन्धनको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति दलको सत्ता गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि स्पष्ट बहुमत रहेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ५४ मा निर्वाचक मण्डलमा रहने सदस्यको मतभार सम्बन्धी व्यवस्था छ । उक्त ऐनसँग सम्बन्धित अनुसूचीमा गरिएको संघीय सांसद र प्रदेश सांसदको मत भारअनुसार सत्ता गठबन्धनसँग स्पष्ट बहुमत देखिएको हो ।
गठबन्धनको प्रमुख घटक एमालेसँग प्रतिनिधिसभाको ७९ र राष्ट्रियसभाको १७ (राष्ट्रपतिबाट मनोनीत परराष्ट्रमन्त्री विमला राईसहित)गरी ९६ सीट छ । संघीय सांसदको मत भार ८७ हो । जसअनुसार एमालेसँग ८ हजार ३५२ मत छ ।
यस्तै एमालेसँग प्रत्यक्ष र समानुपातिक गरी १६२ जना प्रदेश सांसद छन् । प्रदेश सांसदको मत भार ५३ रहेको छ । यसअनुसार एमालेसँग प्रदेशमा ८ हजार ५८६ मत छ । संघीय र प्रदेश सांसदको मत भार जोड्दा एमालेसँग कुल १७ हजार २५ मत छ ।
माओवादीको प्रतिनिधिसभामा ३२ र राष्ट्रियसभामा १६ गरी ४८ सीट रहेको छ । जुन मत भार ४ हजार १७६ हुन्छ । प्रदेशमा माओवादीका ८४ जना सांसद छन् । जसको मत भार ४ हजार ४५२ हुन्छ । दुइटै गरेर ८ हजार ६२८ मत भार माओवादीको छ ।
यसमा राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाल र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट हँसिया हथौडा चिन्हबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव र प्रदेश सांसदहरु गङ्गानारायण श्रेष्ठ र फणीन्द्र देवकोटाको मत भार पनि जोडिएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा २० सीट रहेको छ । यसको मत भार १ हजार ७४० हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रतिनिधिसभामा १४ सांसदको मत भार १ हजार २१८ छ । प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक २८ सिटको मत भार १ हजार ४८४ छ । दुइटै गरेर राप्रपासँग जम्मा मत भार २ हजार ७०२ छ ।
जनमत पार्टीको प्रतिनिधिसभामा ६ सीटरहेको छ । यसको मत भार ५२२ हुन्छ । प्रदेशतर्फ जनमतको १६ जना सांसदको ८४८ मत भार हुन्छ । दुइटै गरेर उसको मत भार १ हजार ३७० पुग्छ ।
यसैगरी प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीसँग प्रतिनिधिसभाका ४ जना सांसदको मत भार ३४८ हुन्छ । प्रदेशसभामा उसको १३ सीट छ । जसको ६३६ जोड्दा जम्मा मत भार ९८४ पुग्छ ।
यसरी सत्ता गठबन्धनकाको मत भार जोड्दा जम्मा ३२ हजार ४४९ पुगेको छ ।
प्रतिनिधिसभाका एक जना सदस्य निलम्बनमा छन् । त्यस्तै राष्ट्रियसभामा पनि एक सीट रिक्त छ । यसअनुसार ३३२ संघीय सांसदको २८ हजार ८८४ र ५५० प्रदेश सांसदको २९ हजार १५० गरी कूल मत भार ५८ हजार ३४ हुन आउँछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत भए पुग्छ । तर, सत्ता गठबन्धनसँग करिब ५६ प्रतिशत मत भार रहेको छ । जुन राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन सक्ने स्पष्ट बहुमत हो ।
सत्ता गठबन्धन बाहिर रहेको प्रमुख दल नेपाली काङ्ग्रेससहित सबै दलको मत भार हिसाब गर्दा जम्मा २६ हजार ९८५ मात्रै हुन आउँछ । प्रतिशतका हिसाबले यो ३७ मात्रै हो । काँग्रेस गठबन्धनमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चा नेपाल रहेका छन् । त्यसैले राष्ट्रपति निर्वाचनसम्म यही स्थिति रहे काँग्रेसले चाहेर पनि राष्ट्रपति निर्वाचित गराउन सक्ने अवस्था छैन ।
काङ्ग्रेससँग प्रतिनिधिसभामा ८८ र राष्ट्रियसभामा ११ गरी संघीय संसदमा ९९ सीट छ । जसको मत भार ८ हजार ६१३ हुन्छ । उससँग प्रदेशसभामा १७५ सीट छ । जसको मत भार ९ हजार २७५ पुग्छ । दुइटै जोड्दा मत भार १७ हजार ८८८ हुन आउँछ ।
जनता समाजवादी पार्टीसँग प्रतिनिधिसभामा १२ र राष्ट्रियसभामा ३ गरेर १५ जना संघीय संसद छन् । यसको मत भार १ हजार ३०५ हुन्छ । प्रदेशसभामा २० सीट रहेको जसपा कूल मत भार २ हजार ३६५ हुन आउँछ ।
नेपाल मजदुर किसान पार्टीको प्रतिनिधिसभामा एक जनामात्रै सांसद छ । जसको मत भार ८७ हुन्छ । प्रदेशसभामा ३ सांसद भएकाले १५९ जोड्दा कूल मत भार २४६ पुग्छ ।
राष्ट्रिय जनमोर्चाको प्रतिनिधिसभा र राष्ट्रियसभामा एकएक गरेर २ सीट छ । प्रदेशसभामा उसको एक सीट छ । जसको कुल मत भार २२७ पुग्छ ।
प्रतिनिधिसभामा अमरेशकुमार सिंह, प्रभु साह र योगी मण्डल तथा राष्ट्रियसभाका वामदेव गौतम र डा.खिमलाल देवकोटा जम्मा मत भार ४३५ हुन्छ । यस्तै प्रदेशसभातर्फ १० जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । उनीहरूको मत भार ५३० हुन आउँछ । दुइटैको मत भार जोड्दा जम्मा ९६५ हुन्छ ।