धनगढीः बाजुराको हिमाली क्षेत्रमा हिमपातका कारण सञ्चार अवरुद्ध भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका र बिछ्या क्षेत्रमा सञ्चार अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख सूर्यबहादुर थापाका अनसार मंगलवार दिउँसो गएको भूकम्पको केन्द्रबिन्दु रहेको सो क्षेत्रमा सञ्चार विच्छेद भएको हो।
मंगलवार जिल्लाको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको प्रहरी नायव उपरिक्षक थापाले बताए। मंगलवार जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो।
२५ भन्दा बढी घरमा क्षति पुगेको बाजुरा प्रहरीले बताएको छ। तर उच्च हिमाली क्षेत्रमा फोन सम्पर्क टुटेको छ। जिल्लामा भूकम्पका कारण भएको क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भइरहेको छ। बिच्छयाँ क्षेत्रमा हिमपात भइरहेका कारण फोन सेवा अबरुद्ध छ।