धनगढीः डोटीको सेती नदीमा निर्माणाधीन पक्की पुलको काम अलपत्र बनेको छ। शिखर नगरपालिका–१०, बानेडुग्रीसैनस्थित पुलको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कविहीन पनि भएको हो। सो पुलको काम आठ वर्षमा २२ प्रतिशत मात्र सम्पन्न भएको छ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी पप्पु राजेन्द्र जोइन्ट भेन्चर जेभीले पुलको ठेक्का पाएको थियो। मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाख ८८ हजारमा ठेक्का लागेको हो। विसं २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्न पुल निर्माणको कार्य अघि बढाइएको थियो। स्थानीयले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्। काम अपुरो छाडेर फरार हुने ठेकेदार कम्पनीमाथि कारबाही गरी अन्य कम्पनीबाट निर्माण कार्य अघि बढाउनसमेत स्थानीयले माग गरेका छन्।
स्थानीय गणेश बलायरका अनुसार सडक डिभिजनदेखि स्थानीय सरकारसमक्ष ठेकेदार कम्पनीमाथि कारबाही गर्न दबाब दिइँदै आएको छ। शिखर नगरपालिका–११ र आदर्श गाउँपालिका–५ जोड्ने पुल निर्माण नहुँदा सडक पहुँचमा पुग्न स्थानीयले घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था छ।
निर्माण कम्पनीले पुल निर्माण क्षेत्रमा क्रसरसमेत सञ्चालन गरेको थियो। पुलको काम हुँदै छ भनेर स्थानीय ढुक्क थिए। तर, निर्माण कम्पनीले तीन, चार वर्षसम्म नजिकैको नदी उत्खनन गर्दै बालुवा, ढुङ्गा र गिट्टी मात्रै अन्यत्र ओसारेको स्थानीयको आरोप छ।
विभागले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको पटक–पटक म्याद थप्दा यस्ता योजना अलपत्र पर्ने गरेका छन्। कम्पनी सञ्चालकले पावर र सेटिङका आधारमा योजनाको म्याद थप्ने र भुक्तानी लिने गरेका कारण पुलको काम अलपत्र परेको स्थानीयको गुनासो छ।
सो कम्पनीका सञ्चालक काँग्रेस नेता तथा पूर्व परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद हुन्।