धनगढी – प्रतिनिधि सभा सदस्य तथा टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी फरार प्रतिवादी रहेको खुलेको छ। संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनै प्रतिनिधि सभा सदस्य चौधरी प्रहरीको फरार सूचीमा रहेको खुलेको हो।
उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्धामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए। त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा बनेका हुन्। उनीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा (हालको लम्कीचुँहा नगरपालिका) तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए। (साविकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो।
मुद्धामा ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुगाएको दाबी ट्याक्टरका मालिक बजगाईँले गरेका थिए। त्यसको केही वर्षपछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए। सोही घटनामा प्रहरीले शुक्रवार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैदमुक्त गरिपाऊ भन्दै दिएको निवेदनमा अस्वीकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो। एउटै मुद्दामा एक व्यक्तिले कैद भुक्तान गर्दा अर्का व्यक्ति भने प्रतिनिधि सभा सदस्य निर्वाचित भएर संसदमा गइरहेका छन्।
अदालतले उनलाई फरार सूचीमा राखे पनि राज्यशक्तिकै आडमा प्रहरीले उनलाई पक्राउ नगरेको बताइन्छ। २०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनी निर्वाचित भएको पार्टीले अहिले पनि टीकापुर घटनाका राजबन्दीहरुको रिहाइको मुद्दालाई नै प्रमुख एजेण्डा बनाईरहेको छ। संसद्मा पनि पार्टीले रेशमसहितका बन्दीलाई रिहा गर्नुपर्ने मागहरु सार्दै आएको छ।