काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि बिहीबारका लागि सारिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक बिहीबारका लागि सारिएको हो ।
माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ ।
यस्तै, एमालेले पनि पूर्व सहमति अनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने दबाव दिईरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग निर्णायक वार्ता गर्ने आश्वासन दिएपछि रास्वपा सरकारबाट तत्काल बाहिरिने निर्णयबाट पछि हटेको बुझिएको छ । ओलीले बुधबार नै प्रधानमन्त्री प्रचण्डसँग भेट वार्ता गर्ने सम्भावना रहेको छ । माओवादी पार्टीले भने प्रतिनिधि सभाको बैठक पनि परेको र तयारी पनि नपुगेकाले बैठक स्थगित गरिएको तर्क गरेको छ ।
माओवादीले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो । यस्तै जारी पदाधिकारी बैठक पनि बुधबार नबस्ने भएको छ ।