धनगढी: अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ स्थित प्रहरी चौकी ढुङ्गाचाल्नाको नव-निर्मित कार्यालय, आवास, तथा मेश भवनको उद्घाटन आज एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गणेश चन्दले गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले नयाँ भवनले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै नागरिक-मैत्री सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध नियन्त्रणमा स्थानीय तह तथा नागरिक समाजसँग सहकार्य गर्न निर्देशन दिए।
उनले भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउने मोति सिंह बुढा, आलोक बिल्डर्स प्रालि, ढकारी गाउँपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, र भौतिक पूर्वाधार शाखाका प्राविधिक प्रहरी अधिकारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरे।
नेपाल सरकारको नियमित बजेटअन्तर्गत ३ करोड ५८ लाख ७१ हजार ९७४ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवनले प्रहरी सेवाको प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
उक्त कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँद, उपाध्यक्ष नेत्रकला शाही, विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, पत्रकार, र करिब १५० जनाको उपस्थिति रहेको थियो।
यो नयाँ भवनले प्रहरी सेवाको गुणस्तर सुधार गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।