काठमाडौँ: चिकित्सा शिक्षा सुधार संघर्ष समिति शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ ।
एमबीबीएस र बीडीएस दोस्रो वर्षमा अध्यनरत विद्यार्थीसँग आइओएमले गत भदौ ३१ मा दुई बुँदे सहमति गरेको थियो । जसअन्तर्गत भर्ना हुँदा तिरेको एकमुष्ट रकम फिर्ताको लागि पहल गर्ने, बेरियर सम्बन्धमा पहिलो वर्ष छपटक दोस्रो वर्ष चारपटक रहेको व्यवस्थालाई पूनरावलोकन गरी क्रमशः आठ वर्ष र छ वर्ष बनाउने सहमति भएको थियो । यीनै सहमतिका बुँदा कार्यान्वयनका लागि आइओएमले आनाकानी गरेको भन्दै संघर्ष समिति निरन्तर आन्दोलनमा छ । समितिले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अझैपनि सहमति कार्यान्वयनमा आनाकानी भएमा आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको छ ।
संघर्ष समितिको माग पूरा गराउनको लागि विभिन्न विद्यार्थी संगठनले ऐक्यबद्धता पनि जनाएका छन् । पत्रकार सम्मेलनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) की डिन डा. दीव्या सिंह शाहले विद्यार्थीहरुको माग सुन्न नचाहेको आरोप लगाए । डीन शाहले बालकोटको आशिर्वादमा विद्यार्थीको समस्या समाधान गर्नुको सट्टा धम्क्याउने काम गरेको पराजुलीको आरोप छ । ‘जबरजस्त ढंगले विद्यार्थीको माग सुन्न नचाहने डिन जो मान्छे छन्, बेलाबेलामा आई लभ यु बा भनेर टिकिरहेकीछन् उनी । उनीबाट बालकोटको आशिर्वादमा विद्यार्थीको समस्यालाई समाधान नगरेर विद्यार्थीलाई धम्क्याउने जुन कर्म भएको छ, त्यसको हाम्रो विद्यार्थी संगठन घोर भत्र्सना गर्दछ,’उनले भने । विद्यार्थीको समस्या नसुन्नेहरु विश्वविद्यालयको प्रशासक भएर कुर्चीमा बस्न नसुहाउने उनको भनाई छ । डाक्टरलाई जनताले भगवान ठानेका र भगवानका उपमा पाएका मान्छेको समस्या समाधानमा सम्बन्धित निकाय जिम्मेवार नहुँदा भगवान भनेका मान्छे नै राक्षस बन्ने गरेको उनको टिप्पणी छ ।
‘डा. दीव्या सिंहले जुन ढंगले विद्यार्थीलाई पीडित बनाइरहेकी छन्, जुन ढंगले विद्यार्थीको समस्यालाई नजरअन्दाज गरिरहेकी छन् । त्यसका विरुद्धमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट हामी गतिलो झापड हान्न तयार छौं,’उनले भने ।
ठूला मान्छेको आडमा विद्यार्थीको समस्या सुन्न नचाहनेलाई आफूहरुले डीनको रुपमा हेर्न नचाहेको उनको भनाई छ । चिकित्सा शिक्षाका क्षेत्रमा रहेका समस्या समाधानका लागि उनले सरकारसमक्ष आग्रह गरे । चिकित्सा शिक्षा सुधारको आवाज उठाएर आन्दोलित भएका विद्यार्थीमाथि प्रहरीको दमन भएको भन्दै उनले त्यसमा पनि आपत्ति जनाए । ‘म विश्वविद्यालयका भिसी धर्मकान्त बाँस्कोटालाई पनि भन्न चाहन्छु, टुलुटुलु हेरेर बसेर किर्तीपुरको हावा खाएर तपाईं बस्न पाउनुहुन्न । त्यो चिसो हावामा अब तातो मिसिँदैछ । तपाईंले ख्याल गर्नुहोला,’उनले भने । विद्यार्थीको समस्या समाधान गर्न बाहिर बोलेको जस्तो सहज नभएको भन्दै उनले नवनियुक्त शिक्षामन्त्री शिशिर खनाललाई चिकित्सा शिक्षाको सुधारमा ध्यान दिन आग्रहसमेत गरे ।
सो कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष एवं रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले चिकित्सा शिक्षाको समस्या समाधान गर्नको लागि विद्यार्थी संगठनहरुको भूमिका प्रभावकारी नभएको भन्दै यसमा उनीहरुपनि चुकेको टिप्पणी गरे । ‘तपार्इंहरु किन संयुक्त रूपमा विद्यार्थी उतार्न सक्नुहुन्न? तपार्इंहरुले सहमति कार्यान्वयन गराउन जसरी पत्रकार सम्मेलन गरिरहनुभएको छ । यो पत्रकार सम्मेलन गरेरमात्र हुँदैन । एक्सनमा उत्रिनुहोस। डिन कार्यालयमा जानुस्। डिनले मानेनन् भने एउटा विकल्प खोज्नुस् न । विद्यार्थीको माग ठूलो होइन । हाम्रो राज्य संयन्त्रको सबैभन्दा ठूलो कमजोरी सम्झौता गर्ने अनि भएको सम्झौता कार्यान्वयन नगर्ने, सहमति गर्ने कार्यान्वयन नगर्ने परम्पराले तपाईहरु यहाँ आएर आक्रोश पोखिरहनुभएको छ,’ उनले भने ।
तत्कालीन् माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौतादेखि अहिलेसम्मका कुनैपनि सम्झौता पूर्णरुपमा कार्यान्वयन नभएको उनको दाबी छ । धमलाले चिकित्सा शिक्षा सुधारका लागि सहमतिपत्रमा सहस्ताक्षर गरेका सबै विद्यार्थी संगठनलाई संयुक्त रुपमा डिन कार्यालयमा गएर वार्ता गर्नको लागि आग्रह गरेका छन् । वार्ताको लागि सरोकारवाला निकाय समहति नभए आन्दोलनको घोषणा गर्न पनि उनको सुझाव छ । चिकित्सा शिक्षा सुधारको लागि आफूले सञ्चालन गर्दै आएको जनता जान्न चाहन्छन् कार्यक्रममा बहस गर्न तयार रहेको धमलाको भनाई छ । आफू चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीलाई साथ दिन तयार रहेको उनको भनाई छ । चिकित्सा शिक्षा सुधारका लागि डीनलाई भेटेर आग्रह गर्ने पनि उनले जनाए । डीन शाहलाई तत्काल विद्यार्थीको माग सम्बोधनका लागि पनि उनले आग्रह गरे ।
यस्तै, नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता गणेश भण्डारीले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधान नगरेर डीन शाहले विद्यार्थी राजनीति गर्ने संगठनको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेको आरोप लगाएका छन् । साथै, आइओएमले विद्यार्थीको रंगको आधारमा शुल्क निर्धारण गरेको उनको आरोप छ । ‘आइओएमले विद्यार्थीहरुको रंग छुट्याउने काम गरेको छ । विद्यार्थीहरुको रंग छुट्याउने भनेर आइओएमको कुनै पनि विधानमा लेखिएको छैन । अर्को कुरा के छ भने विद्यार्थीसँग ६० लाख, ७० लाख देखि ८० लाखसम्म लिईएको छ । कि त सम्बन्धित मेडिकल कलेजलाई उहाँले पत्राचार गरेर पैसा फिर्ता गर्नुपर्छ, नत्र भने विद्यार्थीले पुरै कोर्स पढ्न पाउनुपर्छ भन्ने हो,’उनले भने ।डीन शाहले एमालेका गुण्डा लगाएर चिकित्सा शिक्षा अध्ययनका आन्दोलनरत विद्यार्थीको आन्दोलन दवाउन खोजेको आरोप लगाए । चिकित्सा शिक्षा सुधार संघर्ष अभियानका प्रवक्ता धनबहादुर तमाङले आफूहरुले सरकारसँग ठूलो कुरा नमागेर सहज रुपमा पढ्न देउ भनेर मागेको बताए । विभिन्न विश्वविद्यालयबाट उत्पादित जनशक्ति र त्रिविबाट उत्पादित गुणस्तरमा ख्याल गर्दै सहज रूपमा अध्ययनको वातावरण मिलाउन पनि उनले सरकारसमक्ष माग गरे ।
चिकित्सा शिक्षा सुधारका सन्दर्भमा डिन कार्यालय र सरकारसँग विभिन्न समयमा भएका सहमति अक्षरश कार्यान्वयन हुन आवश्यक रहेको उनले औंल्याएका छन् ।