काठमाडौं – राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गर्नुभएको छ । उहाँले नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको नवीन प्रविधि र उपलब्धिलाई अवलम्बन गरी प्रतिस्पर्धात्मक वातावरणमा भरपर्दो, गुणस्तरीय सेवाप्रवाह गर्न एवं सेवाग्राहीले लागतअनुरुपको सेवा उपयोग गर्न पाउने अवसर सिर्जना गर्न कम्पनी अझ दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गर्नुभएको छ ।