कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम शुरुभएको छ । अस्पताल सुर्खेतको सहकार्यमा मिर्गौला प्रत्यारोपण गरिएको छ । कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रदेश अस्पताल सुर्खेतमा नवलपरासीको बर्दघाट नगरपालिका–४ निवासी ४३ वर्षीय आमाको मिर्गौला २२ वर्षीय उनको छोरामा सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश राष्ट्रिय प्रत्यारोपण केन्द्रले सात वटै प्रदेशमा प्रत्यारोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण शुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रका तर्फबाट डा. श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका तर्फबाट डा. डम्बर खड्काले गत चैत १० गते प्रदेश अस्पतालबाट प्रत्यारोपण सेवा सञ्चालन गर्न सम्झौता गरेका थिए । सम्झौता भएको १० महिनाभित्र प्रत्यारोपण सेवा सुचारु भएको छ ।
मानव शरीरको अङ्ग प्रत्यारोपणको अनुमति नपाएको प्रदेश अस्पतालले स्वास्थ्य सेवा विभाग, अङ्ग प्रत्यारोपण समन्वय समितिबाट गत कात्तिक २० गते अनुमति पाएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौं जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ ।
यस्तै, प्रदेश अस्पतालका निर्देशक डा. खड्काको नेतृत्वमा शल्य चिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेथेसियोलोजिष्ट डा. पुजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही लगायतका चिकित्सक टोली र ओ.टी इन्चार्ज प्रभा रावल तथा ओ.टी. र आईसीयुमा कार्यरत नर्सिङ कर्मचारी, प्रयोगशालाका इन्चार्ज भरत देवकोटा लगायतको संलग्नता रहेको थियो ।