कैलाली: प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
उच्च अदालत दिपायलका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेश दिएको छ । अर्को पेसी माघ २९ गतेलाई तोकिएको छ ।
२०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा २०६७ भदौ २ मा अरुण चौधरीसहित तीनजनाविरुद्ध कैलाली अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
अदालतको आदेश कार्यान्वयनका लागि प्रहरीले माघ १९ मा पक्राउ गरेको हो ।
Facebook Comments Box