धनगढीः माघ ४ गते मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका डीआईजी अशोक सिंहले अपराधिक गतिविधि नियन्त्रणमा मात्रै होइन प्रहरी कर्मचारीको कार्यशैलीमा समेत परिवर्तन ल्याएका छन्।
यसअघि प्रहरी कार्यालयमा मस्तसँग आराम गरिरहेका कर्मचारीहरूलाई डीआईजी सिंहले सडकमा उतारेका हुन्। कुनै ठाउँमा घटना घटे लगत्तै प्रहरीलाई त्यहाँ परिचालन गर्ने उद्देश्यसहित उनले प्रहरी कर्मचारीलाई सुरक्षाका सामग्रीसहित सडकमा तैनाथ गरेका छन्।
उनले कमाण्ड सम्हाले लगत्तै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी लगायत अन्य क्षेत्रमा फरक दृश्य देखिए। कतिपय नागरिकहरूले कुनै उच्च व्यक्तिको सवारी हुँदैछ की भन्ने सोचे। सडकमा प्रहरीको बाक्लो उपस्थिती देखेपछि स्थानीयले सोध्ने गर्थे किन आज यसरी प्रहरी सडकमा उत्रिएका छन् ? की कुनै नेता आउँदै छन् ? तर डीआईजी सिंहले कुनै पनि स्थानमा घटना घटे तुरुन्तै सुरक्षाकर्मी पठाउने उद्धेश्यले कर्मचारीलाई तयारी अवस्थामा राखेका हुन्।
उनी भन्छन्– “नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन फिल्डमा प्रहरी कर्मचारी खटाएको हुँ। अब कुनै स्थानमा घटना भए प्रहरी तुरुन्तै घटनास्थलमा पुग्छ। घटना घटेपछि तयारी गर्दा ढिलो हुने भएका कारण पहिले नै सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छु।”
उनका अनुसार अब घटनास्थलमा प्रहरीको टोली तत्काल पुग्ने छ। यति मात्रै होइन डीआईजी सिंहले कमाण्ड सम्हालेदेखि यस क्षेत्रका भारतसँग सीमा जोडिएका नाकामा चेकजाँचमा कडाइ गरेका छन्। प्रायः दैनिक जसो कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका लगायतका सीमामा तालिम प्राप्त कुकुरसहित चेकजाँच हुने गरेको छ।
डीआईजी सिंहको निर्देशनपछि सिमानाकाबाट हुने लागुऔषध तस्करी र विस्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी नाकामा परिचालन गरिएको छ। सोही अनुसार अहिले नाकामा लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन्।
डीआईजी सिंहका अनुसार अहिलेसम्म ६० जना भन्दा बढी औषध दुर्व्यसनी तथा ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परिसकेका छन्। लागूऔषधका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको कैलालीमा डीआईजी सिंहले कमाण्ड सम्हालेको १५ दिनमै ६० जना भन्दा बढी पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै डीआईजी सिंहले सुदूरपश्चिममा लागूऔषध नियन्त्रण गर्न लागूऔषधविरुद्धको महाअभियान सुरुवात गर्ने तयारी भइरहेको बताए।