काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो। अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।
रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध पोखरेलले निवेदन दिएका थिए । न्यायाधीश प्रधानले रिट दर्ता गरि सुनुवाइका लागि पेश गर्न आदेश दिएसँगै बुधबार सुनुवाइ हुने भएको छ ।
रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन समेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिकामा नदिन रिटमा भनिएको छ । यस्तै संसद सचिवालयबाट कुनै पनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ ।