धनगढीः कैलालीमा पहिरोबाट विस्थापित भएका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको चुरे गाउँपालिका–४ को पनेरु गडा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका विस्थापित परिवारमा आश्रीत बालबालिकालाई मंगलबार न्यानो कपडा सहयोग गरिएको हो ।
कैलालीका पत्रकार बिरेन्द्र रावलको समन्वयमा अमेरिकाको क्यालिफोर्नीयाको लसएन्जल्समा बस्दै आइरहेका कृष्ण आचार्य, कुमार खड्का, महेश आचार्य, हरिहर आचार्य, योगेन्द्र अछामी, सरोज रावत, गणेश गुरुङ र एनिसटेन तिवारीको आर्थिक सहयोगमा १०३ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको हो ।
पत्रकार रावलकाअनुसार उनीहरुले संकलन गरेर पठाएको ८० हजार रुपैयाँ बराबरको न्यानो लुगा बालबालिकाहरुलाई प्रदान गरिएको हो । पनेरुगडा पुगेर रावलले उनी बालबालिकालाई लुगा हस्तातरण गरेका हुन् ।
चुरे गाउँपालिका–४ र ६ मा स्थायी बसोबास रहेका करीब दुई सय परिवार २०७७ सालमा पहिरोबाट विस्थापित भएपछि पनेरुगडास्थित चुरे क्षेत्रको जंगलमा बस्दै आएका छन् ।