धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको छ। उक्त प्रदेश सभाको निर्णायक दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेसँगै रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको हो।
आज (बुधबार) विश्वासको मत प्रयोजनाका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो। तथापि उक्त बैठक स्थगित भएको छ। भोलि १ बजे अर्को बैठक बोलाइएको छ।
‘हाम्रो माग सम्बोधन नभएसम्म हामी सरकारमा सहभागी नहुने यसअघि नै निर्णय गरिसकेका छौँ । यसका साथै हामी सुदूरपश्चिम सरकारलाई विश्वासको मत पनि नदिने निष्कर्षमा पुगिसकेका छौँ । यसअघि रेशम चौधरीलाई माघ महिनाभित्रै जेलमुक्त गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन भएको छैन । जबसम्म यो निर्णय कार्यान्वयन हुँदैन, तबसम्म हामी सरकारमा पनि सहभागी हुँदैनौँ र विश्वासको मत दिने कुरा पनि हुँदैन भन्छिन्,’ नाउपा अध्यक्ष– रञ्जिता श्रेष्ठ ।
नाउपाले सरकारलाई विश्वासको मत नदिएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउने छैनन्। रावलले भोलि (बिहीबार)सम्म विश्वासको मत लिइसक्नुपर्ने छ।
सुदुरपश्चिम प्रदेशमा नेकपा (एमाले)का १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी कूल २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्री रावल नियुक्त भएका थिए।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा रावलले विश्वासको मत पाउन कम्तिमा २७ जना प्रदेश सभा सदस्यको साथ आवश्यक छ। यस प्रदेशमा कांग्रेसका १९ र नेकपा (एकीकृत समाजवादी)का ४ जना प्रदेश सभा सदस्य छन् ।
सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हो । १ जना स्वतन्त्र प्रदेशसभा सदस्य भने विपक्षमा छन् ।
नाउपाका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा पर्नेछन् । योसँगै उनको सरकार ढल्ने निश्चित छ ।
रावलको सरकार ढलेसँगै संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । जसअनुसार सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् ।