काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अरु भन्दा भिन्न छौँ भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाब दिएको बताए ।
शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’
सरकार छाड्दै गर्दा आफूहरूसँग भएको सहमति पालना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’
‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’
सञ्चार माध्यमहरूलाई लाञ्छित गरी रास्वपा सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।
उनले भने, ‘हामी के ठान्छौँ भने प्रेस सिस्टमको अभिन्न अङ्ग हो, त्यहाँ समस्या पनि छ । नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस् । तर प्रेसलाई ‘ब्ल्यांकेट डिस–क्रेडिट’ गर्यो भने लोकतन्त्रमै समस्या आउँछ ।’