काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिने भएका छन्। जसका लागि बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री रावलले विश्वासको मत लिने बिहीबार अन्तिम दिन हो।
यसअघि बुधबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत पाउनेमा आशंका देखिएपछि बुधबारको बैठक स्थगित गरिएको थियो। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता रावल नेतृत्वको सरकार संकटमा परेको छ।
नाउपा बुधबार रातिमसम्म पनि आफ्नो अडानमा कायमै छ। बुधबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूलाई बालकोट बोलाएर फकाएका थिए।
उनले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन आग्रह गरेका थिए। तर, श्रेष्ठले आफ्ना मागहरू पूरा नभएकाले विश्वासको मत दिन नसकिने जवाफ दिएकी थिइन्। नाउपाले डिल्लीबजार कारागारमा रहेका आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बटमलाइन राखेको छ।
एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।
प्रदेशस भामा सत्तापक्षीय नेकपा (एमाले)का १०, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।