काठमाडौँ – नेपाल–भारत परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठक सुरु भएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनय मोहन क्वात्राबीच होटेल याक एन्ड यति बैठक बसेको हो ।
भारतीय विदेश सचिव विनय मोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौँ आइपुगेका हुन्। आए लगत्तै संयन्त्रको बैठक बसेको हो । क्वात्रालाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
बैठकमा पौड्याल र क्वात्राले नेतृत्व गरेको दुई मुलुकको टोलीहरूले सहभागी छन् ।
क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ ।
दुई मुलुकबिच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यस्तै, क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरका विश्वास पात्र हुन् । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो समेत दिने उच्च स्रोतले बतायो । क्वात्रा मङ्गलवार फर्कने कार्यक्रम छ ।