काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ जान लागेकी हुन् । जहाँ आयुर्वेदमा स्नातक (बिएएमएस) पनि अध्ययन भइरहेको छ ।
भवन निर्माण भएको करिब पाँच वर्ष भएको छ । तर, औपचारिक उद्घाटन भने भएको थिएन । सोही भवन उद्घाटन गर्न फागुन ३ गते बिहान ११ बजे जाने कार्यक्रम रहेको डिन प्रा.डा. मङ्गलकान्त झाले बताए । हेलिकोप्टरमार्फत राष्ट्रपति दाङ जाने भएकी हुन् ।
त्यहाँ ओपिडी सेवा सञ्चालन नहुँदा बिएएमएसका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन बाहिर जानुपर्ने अवस्था थियो । कोरोनाको समयभन्दा पहिले त्यहाँ ओपिडी सेवा सञ्चालनमा भए पनि त्यसपछि भने सञ्चालनमा हुन सकेको छैन । त्यहाँ ओपिडी सेवा सञ्चालनका लागि १० जनाको करार विज्ञापन खोलिएको छ । करारमा जनशक्ति पूर्ति भएपछि ओपिडी सेवा पनि सञ्चालन हुने डिन झाले बताए । बिएएमएस साढे पाँचवर्षे हुन्छ । त्यसका लागि देशका विभिन्न ठाउँबाट विद्यार्थी बेलझुन्डी आउने गरेका छन् ।