काठमाडौंः बालाजु माछापोखरी क्षेत्र सोमबार एकाएक अशान्त बन्यो। ट्राफिक नियमको विरोध गर्दै यातायात मजदुरहरूले अवरुद्ध पारेको सडक प्रहरीले हस्तक्षेप गरेर खोल्न खोज्दा मजदुर आक्रोशित भएका थिए। विवाद चर्किंदै गएपछि यतिसम्म पुग्यो कि आन्दोलनरत मजदुरहरूले बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन विष्ट सवार बा २ झ १४४ नम्बरको स्कार्पियोसहित दुईवटा गाडीमा आगजनी नै गरे।
मजदुरहरूले आगजनी गरेका प्रहरीका दुवै गाडी पूर्ण रूपमा ध्वस्त भएका छन्। ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्दा न्यूनतम लाग्ने जरिवाना पाँच सय रुपैयाँबाट एकैपटक १ हजार ५ सय रुपैयाँ पुर्याएपछि मजदुरहरू आन्दोलित बनेका हुन्। मजदुर संघले बालाजु क्षेत्र मात्रै होइन, चक्रपथ सडकखण्डका विभिन्न ठाउँमा सवारी तेस्राएर सडक अवरोध गरेको थियो। अन्य ठाउँमा सामान्य विरोध प्रदर्शन भए पनि बालाजु माछापोखरीमा भने प्रदर्शन हिंसात्मक बन्न पुग्यो।
त्यसको मुख्य कारण कमजोर प्रहरी कमाण्ड हो। प्रदर्शन नियन्त्रणका लागि बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट आफैँ फिल्डमा खटिएका थिए। तर, उनकै कमाण्डमा रहेको प्रहरीमाथि मजदुर आक्रोशित हुन पुगे। प्रहरीले मजदुरमाथि जबर्जस्त बल प्रयोग गर्न खोजेको र डीएसपी विष्टले शालिनता नअपनाउँदा माछापोखरी क्षेत्र अशान्त बन्न पुगेको हो।
प्रदर्शनमा उत्रिएका मजदुरहरूले डीएसपी चढेको गाडीमै आगजनी गरेपछि डीएसपी विष्टसहित दर्जन प्रहरीले भागेर ज्यान जोगाए। मंगलबार बिहान उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइसकेको छ।
जिम्मेवारीबाट हटाइएका विष्ट यसअघि कारबाहीमा परेका अधिकारी हुन्। रुपन्देहीको बेलैया प्रहरी कार्यालयमा हुँदा थुनुवासँग रकम लिएको खुलेपछि विष्ट विभागीय कारबाहीमा परेका थिए।