डडेल्धुराः डडेल्धुराको भित्री मधेशमा पर्ने नेपाल–भारत सीमानाका बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले परशुराम नगरपालिका–५ परीगाउँको बाङघाट र वडा नम्बर ६ को सिसमझाला घाट बन्द गराएको हो।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले असुरक्षित तरिकाले नाका चलाउन नमिल्ने भन्दै बन्द गरेको जानकारी दिए। प्रजिअ न्यौपाने भने, ‘त्यो गैरकानुनी हो, नेपाल–भारतको बोर्डर खोल्न त्यहाँ भन्सार राख्नुपर्छ। पुल हुनुपर्छ। त्यस्तो असुरक्षित किसिमले नाका चलाउन मिल्दैन।’
उनले अनौपचारिक हिसाबले चलेको भए पनि असुरक्षा हुन्छ भन्दै रोकेको जानकारी दिए। तर स्थानीयले भने प्रशासनको निर्णयमा आपत्ति जनाएका छन्। भित्री मधेशका बासिन्दाले दुवै नाकामार्फत् डुङ्गा चढेर दैनिक उपभोग्यको सामग्री ल्याउने गरेका थिए।
परशुराम नगरपालिकामा मात्रै झन्डै ४० हजार जनसंख्या रहेको छ भने आलिताल गाउँपालिकाका बासिन्दाहरूसमेत भारत जान परशुरामका दुवै नाका प्रयोग गर्छन्। सशस्त्र द्वन्द्वका बेला विस्थापित परशुराम नगरपालिका–५ र ६ मा रहेका छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न पहल गर्नुको साटो घाट बन्द गरेर दुःख दिने काम गरेको स्थानीय रमेश चन्दको आरोप छ।
परशुराम नगरपालिका–५, ६, ७ र ८ नम्बर वडाबाट नगरपालिकाको मुकाम लालढुङ्गा बजार आउनुभन्दा भारतीय बजार टनकपुर नजिक पर्छ।
गाउँबस्तीमा उत्पादित कृषि उपज, पशुजन्य वस्तु स्थानीयले भारतीय बजारमा बिक्री गरेर आवश्यक वस्तु खरिद गर्न सहज हुने गरेकोमा नाका बन्द हुँदा ओहोरदोहोरसँगै किनमेल ठप्प भएको स्थानीयको दुखेसो छ।