धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद आचार्यको पुस २८ गते सरुवा भयो।
संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयले २८ गते आचार्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण बहादुर कठायतलाई खटाउने निर्णय भएको थियो।
संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालय ९अतिरिक्त० समूहबाट घोडाघोडी नगरपालिकामा खटिएका प्रमुख कार्यकारी अधिकृत सरुवा भएको केही समय पछि नगरपालिकामा हाजिर भए। तर, नगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने १ महिना सम्म पनि रमाना बुझेनन्।
कार्यालय प्रमुखले प्रयोग गर्ने सरकारी क्वाटर पनि अहिले आचार्यले नै प्रयोग गर्दै आइरहेका छन्। कार्यालय प्रमुखको कामकाज सुरु गरिसक्दा पनि सरुवा भइसकेका कार्यालय प्रमुखले सरकारी आवास नछोडेपछि अहिले नयाँ कार्यकारी प्रमुख कहिले धनगढी त कहिले बनबेहेडाबाट कार्यालय आइरहेका छन्।
धनगढीबाट कार्यालयको दुरी करिब ६० किलोमिटर रहेको छ भने बनबेडा स्थिति कार्यालय प्रमुखको निजी निवासबाट पालिका ३५ किलोमिटरको दुरीमा पर्दछ। नगरपालिका नजिकै रहेको सरकारी आवास सरुवा भइसकेका हाकिमले नछोडेपछि समस्या भएको नगरपालिका स्रोतको दाबी छ।
१ महिना सम्म पनि रमाना नबुझेका पुराना हाकिमलाई रमाना बुझ्न आज एक पत्र पनि काटिएको छ। बरबुजारत गरि रमाना लिने समय सकिँदा सम्म पनि रमाना नलिएको भन्दै आगामी ४ गते सम्म रमाना लिन पत्रमा आग्रह गरिएको छ।