काठमाडौं – नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुन केही समय मात्र बाकी रहदा सुदूरपश्चिमका डिआइजीविरुद्ध परेको उजुरी नियोजित रहेको चर्चा हुन थालेको छ। महानिरीक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाश नजिक रहेका बेला अर्को फन्डा ल्याइएको छ, प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र र अन्य केही आरोप।
हरेक प्रहरी महानिरीक्षकको नियुक्त हुने समय नजिकिएसँगै सञ्चारमाध्यममा आउने यस्ता समाचार पनि सामान्य नै बन्ने गरेका छन् ।
संगठनमा २८ वर्ष सेवा गरिसकेको व्यक्ति जब नेतृत्वका लागि तयार हुँदै गर्छ, तब संगठन भित्र र बाहिरबाट आक्रमण हुनु नौलो देखिएन । संगठनका अहिलेसम्म अब्बल सावित भएका डिआईजी सिंहविरुद्ध चरित्रहत्या गर्ने किसिमको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको कुरा सार्वजनिक हुनु सुनियोजित रहेको पक्का देखिन्छ । सरकार र संगठन एआईजी बढुवाको तयारीमा रहेकै बेला सिंहलाई विवादमा फसाएर अघि बढ्न खोज्नु अन्य प्रतिस्पर्धीहरुको चाल रहेको स्पष्ट देखिन्छ ।
इमेलमार्फत् विभिन्न सञ्चारमाध्यममा प्रेषित उजुरीमा डिआईजी सिंहविरुद्ध फेसबुकमा लेखिएको कुरालाई समेत उल्लेख गरिएको छ । उनीसँग सम्बन्धित विषयमा अन्य व्यक्तिलाई समेत मुछ्नु पक्कै पनि उपयुक्त होइन । उजुरीकर्ताले अख्तियारमा निवेदन दर्ता गर्नु भन्दा केही बेर अगाडि मात्र इमेल अकाउन्ट खोलेर प्रायः सञ्चारमाध्यमहरुमा उजुरी पठाएका छन् । बिहान १० बजेर ५८ मिनेटमा सञ्चारमाध्यममा इमेल पठाइसकिएको र सोही दिन (३) गते नै दर्ता गरिएको भनिएको उजुरीले उक्त घटना योजनाबद्ध भएको स्पष्ट हुन्छ ।
नेपाल प्रहरीका काबिल मानिएका अधिकृतमाथि पटक–पटक यस्ता चारित्रिक दोष लगाउँदै उजुरबाजुर गरिनु नयाँ कुरा नभए पनि बढुवा र नयाँ नेतृत्वका लागि बलिया प्रतिस्पर्धी भएकै कारण यस्ता घटना बाहिर आउनु योजनाबद्ध नै भएको स्पष्ट हुन्छ । यस कार्यका लागि अन्य बाहिरका व्यक्तिभन्दा पनि संगठनभित्रकै प्रतिस्पर्धीहरु संलग्न रहेका छन् । अख्तियारमा प्रायः गरी बेनामे उजुरी पर्ने गरेमा यस उजुरीमा उजुरी कर्ताले आफ्नो नाम खोलेका छन् । नामसम्म खोलिसकेका व्यक्तिले सम्पर्क नम्बर किन नखोलेको होला ? सम्पर्क नम्बर नखोल्नुमा पनि केही संशय देखिन्छ । यदि सम्पर्क नम्बर पनि खोलेको भए यदि सिंह दोषी नै भएको भए अन्य धेरै सूचना प्राप्त गर्न पनि सजिलो हुन्थ्यो होला ।
सिंहमाथि यसअघि पनि संगठनका तत्कालिन प्रमुखहरुले विभिन्न आरोप लगाएर फसाउन खोजेकै हुन् । सेवा प्रारम्भ गर्दाखेरी नै तत्कालिन संगठन प्रमुखको कोपाभाजनमा परेर बढुवामा पछि पारिएका सिंह त्यसपछि संगठन र मुलुकका लागि जहिले पनि ड्युटीमा सफल प्रहरी अधिकृतका रुपमा खटिए । त्यतिबेला भइसकेको छानबिनका निर्दोष देखिएका सिंहमाथि पुनः अनेक आरोप लगाएर उजुरी गरिनु उनको आगामी यात्राको बाधकबाहेक केही होइन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसबारे छानबिन अवश्य गर्ला । दोषी ठहरिए सिंह सजायका भागीदार अवश्य हुन्छन् तर बढुवाकै समयमा एउटा काबिल प्रहरी अधिकारीलाई नियोजित रुपमा यसरी लाञ्छना वा चरित्र हत्या गरिनु पक्कै पनि न्यायसंगत होइन । यदि सिंहको नागरिकता बारे विवाद पुष्टी भएमा सिंहलाई मात्र होइन यसअघि छानबिन गरेकालाई समेत कारबाही गरिनुपर्दछ । अन्यथा, मुलुकको शान्ति सुरक्षाका लागि मुलुककै प्रवेशद्वारको जिम्मेवारी लिएर मैदानमा खटिएको एउटा सिपाहीलाई विवादमा ल्याउन खोज्ने पनि सजायको भागीदार बन्नु पर्छ ।
हुनत यसघटनामा उजुरीकर्ता भनिएका विश्वप्रकाश भेटवाल कस्ता किसिमको व्यक्ति हुन् त्यो स्पष्ट खुलेको छैन । यदि प्रहरी संगठनको शुद्धताका लागि उनले यस अभियान चलाएको भए पक्कै स्वागतयोग्य काम हो । तर उजुरी गर्दाको परिवेश र समय हेर्दा उनी संगठनभित्रकै अझै सिंहकै प्रतिस्पर्धीहरुबाट सञ्चालित भएका व्यक्ति हुनसक्ने आंकलन गर्न सकिने प्रसस्तै आधार देखिन्छन् । सिंहका प्रतिस्पर्धीहरुले पनि के बुझ्नुपर्छ भने आफ्नै सहकर्मीविरुद्ध तेस्रो व्यक्तिको प्रयोग गरि संगठनको नाक काट्ने काम गरिरहँदा आफूविरुद्ध अरु कसैले पनि अर्कै व्यक्तिको प्रयोग गर्न सक्छ भन्ने कुरा विचार गर्नुपर्ने हुन्छ ।