काठमाडौँः रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरी कारागारको ‘ख’ ब्लकमा बस्छन्। स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको भेटघाट र बैठक पनि कारागार परिसरमै हुन्छ।
अचेल कारागारमा भेटघाट बाक्लो हुने गरेको पनि बताइएको छ। यसअघि सुदूरपश्चिममा उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढल्यो। अहिले कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार बनेको छ। शाह नेतृत्वको सरकार बन्नुअघि र बनेपछि पनि सुदूरपश्चिमका कांग्रेस नेता रमेश लेखक र प्रकाश देउवा डिल्लीबजार कारागार पुगेका छन्।
‘मुख्यमन्त्री र अरू नेताहरू भेट्न आइरहनुहुन्छ,’ कारागार स्रोतले भन्यो, ‘उहाँको भेटघाट बाक्लो हुने गरेको छ।’ कारागार प्रशासनले चौधरीको भेटघाटका लागि कुर्सी र टेबलको व्यवस्था गरिदिएको छ। प्लास्टिकको टेबल र ४ थान कुर्सी चौधरी बस्ने ब्लकको बाहिर राखिएको छ। त्यहाँ उनले बैठक र भेटघाट गर्छन्।
कुर्सी र टेबलबाहेक चौधरीका लागि अन्य सुविधा नदिएको कारागार प्रशासनले जनाएको छ। तर बाहिर रेशमलाई जेल प्रशासनले मनमौजी सुविधा दिएको चर्चा हुने गरेको छ। रेशम बस्ने हलमा कम्तीमा १२ वटा बेड छन्। भेट्न जानेहरूलाई क्यान्टिनमा पैसा तिरेर उनले चिया खुवाउने गरेका छन्। करिब ५ घण्टा ब्लकबाहिरको कम्पाउन्डमा बसेर रेशमले भेटघाट गर्ने गरेका छन्। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जेलको फोनबाट कुरा गर्न पनि रेशमलाई सहज छ। अरूले लाइन बसेर फोन गर्नुपर्ने भए पनि रेशमले लाइनमा बस्नुपर्दैन।
२०७४ मा कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी २०७४ फागुन १४ देखि थुनामा छन्। २०७२ भदौ २७ मा थरूहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मी र एक जना बालकको हत्या भएको थियो। सो घटनामा चौधरीलाई मुख्य अभियुक्तका रूपमा सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।