धनगढीः सशस्त्र प्रहरी बल नेपालले हालै बढुवा भएका चार जना डिआईजीको पदस्थापन गरेको छ। प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको गृहमन्त्रालयले हालै गरेको बढुवामा चार जना सशस्त्र प्रहरी एसएसपी डिआईजी बनेका हुन्।
उनीहरुलाई हिजोको मितिमा सशस्त्र प्रहरी बलको मुख्यालय, मानवस्रोत विभागले विभिन्न इकाइमा पदस्थापन गरेको हो। जसअनुसार सुरेशकुमार श्रेष्ठलाई हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखराको जिम्मेवारी दिइएको छ।
त्यसैगरी अञ्जनीकुमार पोखरेललाई विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, चितवन, दीपेन्द्र शाहलाई युएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी र पुरुषोत्तम थापालाई प्रधान कार्यालयको मावनस्रोत विभागमा राखिएको छ।
चारै जना डिआईजी सशस्त्र प्रहरी बलमा २०५९ कात्तिक ४ गतेका दिन इन्स्पेक्टरमा भर्ना भएका हुन्। त्यतिबेला उतीर्ण नौ जनामध्ये पोखरेल र शाह क्रमशः पहिलो र दोस्रो नम्बरमा थिए। थापा र श्रेष्ठ क्रमशः चौथो र पाँचौ नम्बरमा थिए। तीन नम्बरमा दिपक अधिकारी रहेको बताइन्छ।