धनगढीः सुदूरपश्चिममा अहिले पनि स्ववियु निर्वाचन कहिले हुने ? भन्ने टुंगो लागेको छैन। सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा स्ववियु निर्वाचनबारे अहिले पनि अलमल नै छ। यद्यपि विद्यार्थी नेता तथा संगठनहरुले स्ववियु निर्वाचन शिघ्र गराउनका लागि पहल तथा कसरत गरिरहेका छन्।
अस्तीमात्रै सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनबारे छलफल गर्न बैठक बसेको थियो। तर केही निर्णय नगरी सो बैठक सम्पन्न भएको थियो। अहिले पनि विद्यार्थी संगठनहरुले चाडो निर्वाचनको मिति तोक्न दबाब दिइरहेका छन्।
यो आगामी महिना चैतभित्र निर्वाचनको मिति तय गर्न भन्दै आफूहरु दबाब दिइरहेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश समितिका प्रमुख सचिव डम्बर भट्टराईले बताए। उनले आफ्नो संगठनको मुल माग नै स्ववियु निर्वाचन घोषणा रहेको भन्दै त्यसमा लागिपरेको बताए।यस्तै विश्वविद्यालयले अहिलेको अलमलको अवस्था हटाएर मिति तय गर्नुपर्ने उनको भनाइ छ।
यस्तै नेकपा एमाले निकट अनेरास्वियुले पनि स्ववियु निर्वाचनमा ढिलाइ भइरहेको जनाएको छ। अनेरास्वियु कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष यमराज जोशीले अहिले विश्वविद्यालयले ढिलासुस्ती गरिरहेको र तत्काल निर्वाचनको घोषणा गर्न आफूहरुले दबाब दिइरहेको बताए। अहिलेकै जस्तो ढिलासुस्ती गरेको अवस्थामा अन्य दबाबका कार्यक्रमहरु गरिने उनले बताए। आफ्नो संगठन अहिले स्ववियु निर्वाचन केन्द्रित भएर संगठन विस्तारमा लागेको उनको भनाइ छ।
यस्तै नेपाली काँग्रेस निकट नेविसंघले पनि स्ववियु निर्वाचन चैतभित्र नै हुनुपर्ने जनाएको छ। नेविसंघ कैलालीका सभापति मनिश कुँवरले विश्वविद्यालयलाई चैतभित्रै चुनाव गराउन आग्रह गरेको र त्यसका लागि आफूहरु सक्रिय भएको बताए। आफ्नो संगठनले निर्वाचन लक्षित कार्यक्रम तथा गतिविधि पनि बढाएको उनले बताए। अहिले नेविसंघ हरेक क्याम्पसमा निर्वाचन लक्षित कार्यक्रम गर्ने तयारीमा रहेको उनको भनाइ छ।