काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार साँझ ‘गोप्य भेटवार्ता’ भएको छ ।
देउवा प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटारमा पुगेका हुन् । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा देउवा छलफलका लागि बालुवाटारमा पुगेका हुन् ।
सो क्रममा राष्ट्रपतिको निर्वाचन र सत्ता सहकार्यका सम्भावित विकल्पका विषयमा छलफल केन्द्रीत भएको बताइएपनि ठोस कुरा बाहिर आउन सकेको छैन ।
बालुवाटार र देउवाको सचिवालयले यो भेटलाई गोप्य नै राख्न चाहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सहमति हुन नसकेको अवस्थामा प्रचण्ड र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्डले आफ्नो पार्टी राष्ट्रपतिबारे राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउँदै आएका छन् । यस्तै कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफूलाई सघाउने विश्वास व्यक्त गर्दै आएको छ ।