काठमाडौंः नेपाल प्रहरीमा करिब १ महिनापछि नयाँ नेतृत्व आउने सम्भावना छ। सरकारले नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि नहटाएको खण्डमा वर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि नयाँ नेतृत्वका लागि अहिले भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु पनि उनीसँगै अवकाशमा जाने भएपछि प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाट बढुवा गरेर संगठन प्रमुखको जिम्मेवारी सरकारले दिनुपर्नेछ।
सरकारले एआईजीको दरबन्दी खाली भएको करिब ७ महिनायतादेखि बढुवा गर्न सकेको छैन। विभिन्न मितिमा गरेर अहिलेसम्म ५ जना एआईजीको दरबन्दी खाली रहेको छ। भावी नेतृत्वका लागि प्रहरीका १७ डिआईजी दौडमा रहेका छन्। अहिले प्रहरीका २० जना डिआईजी रहेपनि ती मध्येमा ३ जना चैत ११ मै अवकाशमा जाने भएकाले डीआईजी बढुवाका लागि १७ जनाको प्रतिस्पर्धा देखिएको हो। तर मुख्य गरी शीर्ष ३ भित्र परेकालाई नै भावी आईजीका रुपमा हेरिएको छ।
शीर्ष ३ भित्र परेका र संगठनमा अब्बल ठानिएका डिआईजी अशोक सिंहलाई संगठनभित्रबाटै उमेर झुक्याएर जागिर खाइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। जागिरको सुरुवातीकाल खण्डमा नेतृत्वको कोपभाजनमा परेका सिंह उत्तरार्द्धमा भने भने संगठनभित्रकै सहकर्मीहरुको षडयन्त्रमा फसेका छन्। केही प्रतिस्पर्धीहरुले मिडियाबाजी गर्दै उनलाई दोषी करार गर्दै आफू अगाडि बढ्न खोजीरहेका छन्। डिआईजी सिंहको नागरिकता र नेपाल प्रहरीको सिटरोलमा जन्ममिति फरक भएको भन्दै उजुरी परिरहेका बेला अन्य प्रहरी अधिकारीहरुको बारेमा पनि मिडियाका साथै उजुरीकर्ताहरु मौन रहेका छन्।
स्रोतका अनुसार नेपाल प्रहरीका एक एआईजी र ८ डिआईजीको जन्ममिति फरक रहेको पाइएको छ। एआईजी दिवेश लोहनीको उमेर ६ महिना २६ दिन फरक रहेको पाइएको छ। उनको सिटरोलमा २०२४÷६÷२९ रहेको छ भने नागरिकतामा २०२५÷१÷१५ तथा शैक्षिक योग्यतामा २०२४÷६÷१९ उल्लेख गरिएको छ। उनीसँग रहेका तीन वटा सरकारी कागजमा तीन वटा जन्ममिति रहेका छन्।
डिआईजी नलप्रसाद उपाध्यायको पनि जन्ममिति ६ महिना १४ दिन फरक भेटिएको छ। उपाध्यायको सिटरोल र नागरिकतामा २०२४÷४÷१९ तथा शैक्षिक योग्यतामा २०२४÷११÷३ उल्लेख गरिएको छ। अर्का डिआईजी मोहन आचार्यको सिटरोल र शैक्षिक योग्यतामा २०२४÷१०÷१७ रहेको छ भने नागरिकतामा २०२४ साल मात्र उल्लेख गरिएको छ। डिआईजी मसउद आलम खाँको पनि ५ महिना १ दिन जन्ममिति फरक रहेको पाइएको छ। खाँको सिटरोलमा २०२५÷७÷१२ रहेको छ भने नागरिकतामा २०२५÷१२÷१३ तथा शैक्षिक योग्यतामा २०२५÷७÷११ उल्लेख गरिएको छ। उनको सिटरोल, नागरिकता र शैक्षिक योग्यता सबैमा जन्ममिति फरक–फरक रहेको पाइएको छ। उनीहरु तीनैजना आईजी सिंहसँगै चैत ११ गते अवकाश पाउने अधिकृत हुन्।
त्यस्तै भावी आईजीका दाबेदार डिआईजी अशोक सिंहको जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको देखिन्छ। डिआईजी सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ। उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५÷९÷१६ छ भने नागरिकतामा २०२४÷२÷२२ भएको प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखाना उल्लेख छ।
जवकी उनले २०४२÷२÷२२ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको छ। त्यसैगरी डिआईजी श्यामलाल ज्ञवालीको पनि जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ। उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५÷५÷२६ रहेको छ भने नागरिकतामा २०२४÷१२÷२१ उल्लेख छ। ज्ञवालीले भने आफ्नो सबै कागजपत्रमा एउटै जन्ममिति २०२५÷५÷२६ रहेको र विवादमा ल्याउनका लागि झुटो विवरण सार्वजनिक गरिएको दावी गरेका छन्।
अर्का डिआईजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको छ। उनको सिटरोल र नागरिकतामा २०२५÷९÷१६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५÷८÷१७ उल्लेख भएको पाइएको छ। त्यस्तै अर्का डिआईजी भीमप्रसाद ढकालको उमेरमा १ वर्ष फरक पाइएको छ। उनको प्रहरी सिटरोलका अनुसार २०२५÷०८÷२८ रहेकोमा नागरिकतामा भने २०२४÷०८÷२८ रहेको छ। उनको १ वर्षको उमेर फरक पाइएको छ।
त्यस्तै अर्का डिआईजी किरण राणाको जन्ममिति १ दिनको फरक पाइएको छ। उनको प्रहरी सिटरोल र नागरिकतामा एउटै उमेर रहेता पनि शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको उमेरमा फरक पाइएको हो। नागरिकता र प्रहरी सिटरोलअनुसार उनको उमेर २०२५÷०७÷१६ रहेकोमा शैक्षिक योग्यताको प्रमाणपत्रमा उनको जन्ममिति २०२५÷०७÷१६ रहेको छ। डिआईजी अशोक सिंहविरुद्ध उजुरी परेपछि अन्य यी अधिकृतहरु पनि छानबिनमा पर्ने सम्भावना देखिएको छ।