धनगढी: कैलालीको बडैपुरमा आज नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठक बसेको छ। उक्त बैठकले अब सुदूरपश्चिममा पनि केन्द्रको समीकरण अनुसार अघि बढ्ने निर्णय गरेको छ।
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने/नदिने बिषयमा पनि छलफल भएको र हाललाई ठोस निर्णय नभएको एक पदाधिकारीले बताए।
उनकाअनुसार केन्द्रको राजनैतिक समीकरणअनुसार प्रदेशमा पनि भूमिका खेल्नु पर्ने बिषयमा छलफल भएको थियो।
एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता कमल शाह अहिले मुख्यमन्त्री छन्। उनले पनि ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने छ। तर, अहिले सम्म उनले पनि विश्वासको मत पाउने नपाउने भन्ने यकिन हुन सकेको छैन।
नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पुरा नभए सम्म विश्वासको मत दिन नसकिने बताएको छ भने माओवादी केन्द्रले पनि आज केन्द्रको समीकरण अनुसार अघि बढ्ने सङ्केत दिएको छ।
बैठकमा सहभागी केही नेताहरूले संसद् जोगाउन भएपनि विश्वासको मत दिनु पर्ने बताएका थिए। तर, त्यस बिषयमा कुनै निर्णय नभएको नेताहरूले बताए। बैठक भोलीसम्म जारी रहने बताइएको छ।