काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरणले २० साउन २०७१ मा थाई एयरवेजलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ गर्न अनुमति दियो। ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निर्देशिका २०६९ को खण्ड २ को उपखण्ड (४) बमोजिम प्राधिकरणका तत्कालिन महानिर्देशक रतिस चन्द्र लाल सुमनले थाई एयरवेजलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’को लागि अनुमति दिएका हुन्।
उक्त उपखण्डमा स्पष्ट भनिएको छ, ‘नियमित उडान गर्ने वायुसेवा वा वायुयान सञ्चालक’ले मात्रै यो अनुमति प्राप्त गर्छ। सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेका थाई एयरवेजले कोरोना महामारीसँगै नेपालमा हवाई सेवा बन्द गर्यो।
हेर्नुहोस् अनुमति पत्र र निर्देशिका
कानुनी हिसाबले उडान बन्द गरेसँगै थाई एयरवेजलाई दिइएको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ अनुमति पनि स्वत खारेज हुन्छ। तर तत्कालिन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले थाई एयरवेजको भगिनी संस्था थाई स्माइल भएको भन्दै ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’को अनुमति थाई स्माइललाई दिए। नविकरण पनि गरीदिए।
यसरी थाई स्माइललाई गैरकानुनी हिसाबले ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ अनुमतिको सबै प्रबन्ध थाई स्माइल एयरवेजको नेपालको आधिकारिक जीएसएको जिम्मा लिएका सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले मिलाएका थिए। जीएसएको जिम्मा लिएको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले सम्पूर्ण जिम्मेवारी वहन गर्ने गरी तत्कालिन महानिर्देशक क्षेत्री र सिंहले आर्थिक साझेदारी गरेर १२ पुस २०७८ स्वीकृति दिएको स्रोतको दाबी छ।
तर तात्कालिन महानिर्देक क्षेत्रीले थाई एयरवेजको भगिनी संस्था थाई स्माइललाई गैरकानुनी हिसाबले ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ अनुमतिकाको नविकरण गरीदिएको बारेमा अनज्ञिता प्रकट गरे। तत्कालिन महानिर्देशक क्षेत्रीले वीज एयरलाइन्स, जजिरा एयरलाइन्स, गरुडा एयरलाइन्स, सिचुवान एयरलाइन्स र भुटान एयरलाइन्सको पनि जीएसए लिएको सिंहसँग आर्थिक मिलेमतोमा उक्त स्वीकृति दिएको भन्दै उजुरी समेत परेको प्राधिकरणका उच्च अधिकारीको दाबी छ। तर यो आरोप महानिर्देक क्षेत्रीले अस्वीकार गरे। यो अनुमतिपछि नेपाललाई ५ अर्बभन्दा बढी नोक्सान भएको मन्त्रालयका उच्च अधिकारीहरुको भनाई छ ।
‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा खारेज
यसैबिच नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ रद्ध गरेको छ। थाई एयरवेजको सेल्फ ग्राउन्ड ह्यान्डलिङ म्याद थप नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
९ फागुन २०७९ मितिदेखि थाई एयरवेजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम बन्द गरिएको हो। थाई एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा पनि बन्द गर्ने प्राधिकरणले निर्णय गरेको छ। अब सम्पूर्ण सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्नेछ।