काठमाडौँः गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी गरेको छ। केही दिनमा एआईजीमा बढुवा हसने गृह–सचिव विनोद प्रकाश सिंहले जानकारी दिए।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यबीच तीव्र प्रतिस्पर्धा छ। एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए।
प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरीक्षकमा बढुवा हुनेछन् तिनै एक महिनापछि महानिरीक्षक (आईजीपी) हुने सम्भावना बलियो हुन्छ। डिआईजीको मेरिट लिस्टमा वसन्त बहादुर कुँवर एक नम्बरमा छन्। दुई नम्बरमा टेक प्रसाद राई, तेस्रोमा अशोक सिंह र मेरिट लिस्टको चौंथो नम्बरमा दीपक थापा छन्।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै उनका ब्याचमेटहरु २०७९ चैत ११ मा अवकाशमा जाँदै छन्। सिंहको अवकाशसँगै अहिले बढुवा हुने एआईजी मध्येबाट आईजीपी बन्नेछन्। पहिलो नम्बरमा एआईजी हुने अधिकारीको आईजीपीमा बढुवा हुने सम्भावना बलियो हुन्छ। त्यसैले डिआईजीहरुबीच एक नम्बरमा बढुवा हुन तीव्र प्रतिस्पर्धा छ।
बढुवाको मुख्य प्रतिस्पर्धीहरु वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दीपक थापा २०७९ असारमा डिआईजीमा बढुवा भएका थिए। तर, डिआईजी अशोक सिंह उमेर विवादमा तानिएका छन्। २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ। शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ। प्रधान कार्यालयको अभिलेखमा २०२५ पुस १६ लाई मान्यता दिएको छ। नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्ष ६ महिना २४ दिन फरक भएको बारेमा के निर्णय हुन्छ भन्नेबारे अन्योल देखिएको छ।
बढुवा प्रतिस्पर्धी श्यामलाल ज्ञवालीको पनि नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक देखिएको छ। ज्ञवालीको नागरिकतामा जन्ममिति २०२४ चैत २१ उल्लेख छ। शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ साल भदौ २६ उल्लेख गरिएको छ। प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार उनको उमेर ५ महिना ६ दिन फरक परेको छ।
पुराना नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ। प्रहरी प्रधान कार्यालयको अभिलेखमा सिंहको जन्ममिति २०२५ पुस १६ र ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ लाई मान्यता दिइएको छ।
उमेर विवादका कारण सिंह र ज्ञवालीलाई सरकारले बढुवा नगरेमा सन्दीप भण्डारी र मिरा चौधरीले एआईजी बढुवामा अवसर पाउनेछन्।