महेन्द्रनगर – नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्।
बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा बुझाएका हुन्। नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने होडमा रहेका उनको जन्म मिति र शैक्षिक योग्यताको प्रमाण पत्रलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालसालै मात्र उजुरी परेको थियो ।
राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए।
सिंहको फरक-फरक जन्ममिति भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो । सिंहको नागरिकताका आधारमा जन्ममिति २०२४ साल जेठ २२ गते रहेको पाइएको छ । तर, उनको नेपाल प्रहरीमा रहेको सिटरोलमा जन्ममिति २०२५ पुस १६ गते रहेको छ ।
२०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको विवरणसहितको नागरिकता जारी भएको थियो । नागरिकतामा जन्ममिति उल्लेख नभएको अवस्थामा जारी भएको महिना र गतेलाई जन्ममिति मानिने प्रहरी नियमावलीको व्यवस्था छ । सोही आधारमा सिंहको जन्ममिति २०२४ जेठ २२ गते कायम भएको थियो ।
तर, २०५० सालमा सिंहले प्रहरी निरीक्षकमा भर्ना हुन दिएको शैक्षिक प्रमाणपत्रमा २०२५ पुस १६ गते जन्ममिति रहेको पाइएको छ ।