नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार विहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।
सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लागेको हो ।
सम्पत्ति शुद्धीकरणका नेतृत्व सम्हालिसकेका प्रेमप्रसाद भट्टराई, राष्ट्र बैंकको निर्देशक हरि नेपाल, नेपाल कानुन आयोगका अध्यक्ष तथा पूर्व कानुनमन्त्री माधव पौडेल, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी र सर्वोच्च बार एशोशिएसनका कार्यसमिति सदस्य रेशम रेग्मीलाई बैठकमा बोलाइएको छ ।
लेखकका अनुसार उनीहरुले कांग्रेस सांसदहरुलाई सम्पत्ति शुद्धीकरण विधेयकबारे सुझाव दिने छन् । कांग्रेसले संसदमा आएका हरेक विधेयकमाथि आगामी दिनमा पनि सम्बन्धित विज्ञसँग परामर्श लिने लेखकले बताए ।