धनगढीः बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत रहेका जीवन बुडालको मृत्यु रहस्यमयी बन्दै गएको छ। दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए।
घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेम शाहीले बताए।
मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा कार्यरत थिए। बझाङ कार्यक्षेत्र रहेका उनी केही दिन अघि विदामा घर आएका थिए।
शनिबार आफ्ना इष्टमित्र र साथीहरुसंग जाडाबगरमा पिकनिक मनाउन गएका उनी चौलानी नदीमा राति मृत भेटिएका हुन। बुडालसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए।
दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका थिए। बुडालको नदीमा डुबेर वा अन्य के कारणले मृत्यु भएको हो अझै एकिन भएको छैन।
उनको मृत्यु शंकास्पद छ। उनी महाकाली तीरसंगै रहेको खडेनीका स्थानीय बासिन्दा हुन। पौडी खेल्न सिपालु थिए। दिउँसो पिकनिक गएका बुडाल हराएको भन्दै उनका साथीहरुले राति करिब ९ बजेतिर मात्रै प्रहरीलाई खबर गरेका थिए।
‘नदीमा शव भेटिएको छ, अहिले शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदैछौँ,’ डीएसपी शाहीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’