धनगढीः बैतडीमा वनभोज खान गएका युवक मृत अवस्थामा भेटिएका छन्। दशरथचन्द नगरपालिका–१० का २५ वर्षीय जीवन बुडाल शनिबार राति मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले शनिबार साथीहरुसँगै वनभोज खान गएका बुडाल राति दशरथचन्द नगरपालिका–६ शेरास्थित चौलानी नदीको बगरमा मृत अवस्थामा भेटिएको जानकारी दिए। उनकाअनुसार नदीको दुई किनार भएर बग्ने बीचको बगरमा उनको शव भेटिएको हो।
घटनास्थल कार्य सकेर बुडालको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पतालमा राखिएको डीएसपी शाहीले बताए। उनी राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
बझाङमा कार्यरत उनी विदामा घर आएका बेला शनिबार साथीहरुसँग वनभोज खान गएका थिए। यसैबीच बुडाल मृत भेटिएको घटनामा शंकास्पद १२ जनामाथि अनुसन्धान थालिएको छ।
बुडालसँगै वनभोज खान गएका मध्येका साथीभाई, आफन्त र नातागोता पर्ने १२ जनामाथि अनुसन्धान अघि बढाइएको प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले बताए। उनीहरुलाई निगरानीमा राखेर अनुसन्धान जारी रहेको छ।