काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् ।
मङ्गलवार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रूपमा बजेट बढाउने बताएका हुन् ।
‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए ।
उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सबै प्रदेश र पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको सुनाए ।
च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।