बैतडी- बैतडीका ९ वटा विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सम्बन्धित पालिकाले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेका हुन्।
जिल्लाको शिवनाथ गापाका ४ र पञ्चेश्वर गापाका ५ वटा विद्यालयलाई तीनतारे घोषणा गरिएको हो। विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गरी विद्यालयलाई तीनतारे घोषणा गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए।
खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेका विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो। उनले भने, ‘खानेपानी, शौचालय, सफा र स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन लगायतका सूचक पूरा गरेका विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएका हुन्।’
तीनतारे विद्यालय घोषणा हुनेमा पञ्चेश्वर गापाका प्रगति आधारभूत विद्यालय, देवथला माध्यमिक विद्यालय, नागार्चन आधारभूत विद्यालय, कुलाउ माध्यमिक विद्यालय र सोमेश्वर मावि छन्। यस्तै शिवनाथ गापाका जिम्मेश्वर आधारभूत विद्यालय, खम्पाल आधारभूत विद्यालय, कैलपाल आधारभूत विद्यालय र शिवपूर्ण आधारभूत विद्यालय छन्।