धनगढी : दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको शव परिवारजनले अझै बुझेका छैनन। तीन दिन बितिसक्दा पनि आफन्तले शव नबुझेका हुन्।
बुडालको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य तत्काल सार्बजनिक गरी दोषीमाथि कारबाही नगरुन्जेल शव नबुझने अडान परिवारजनले लिएका छन्। उनीहरुले आजै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र दिँदै सत्यतथ्य छानबिनको माग गरे।
‘पोष्टमार्टम रिर्पोट पनि आएको छैन, उक्त रिर्पोट चाँडो बाहिर ल्याउनुप-यो,’ एक जना आफन्तले भने, ‘घटना शंकास्पद देखिएको छ, सत्यतथ्य सार्बजनिक नभएसम्म शव नबुझने अडानमा छौँ।’
राष्ट्रिय अनुसन्धान विभागका सहायक सुचक बुडालको शव शनिबार राति दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा फेला परेको थियो।
उनी बझाङमा कार्यरत थिए। उनकी पत्नी अनिषा कुलुम बुडालले आफ्ना श्रीमानको हत्या गरिएको दाबी गर्दै १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी छन्।
सँगै पिकनिङ खान गएका १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएपनि परिवारजनले शव बुझ्न मानेका छैनन्।
बुडाल महाकालीको किनार खडेनीका बासिन्दा थिए। ‘उहाँ पौडी खेल्न सिपालु हुनुहुन्थ्यो, महाकाली भन्दा निकै कम पानी भएको चौलानी नदीमा कसरी डुब्नुभयोे? यहीँबाट हामीलाई शंका उब्जियो,’ मृतकका एक आफन्तले भने।
शनिबार दिउसो १ बजे घटना भएपनि प्रहरीलाई त्यसको जानकारी सँगै गएकाहरुले राति ६ बजेमात्र गरेको देखिएको छ।
मृतक बुडालको मोबाइल पनि साथीहरुसँगै भेटिएको थियो। नियन्त्रणमा लिइएका १२ जनाको पनि बयान एक आपसमा बाझिएको प्रहरी स्रोतले जनाएको छ।
को–को छन् प्रहरी नियन्त्रणमा ?
मृतक बुडालकी पत्नी अनिषाले ज्यान सम्बन्धि कसुरमा १२ जनाविरुद्ध किटानी जाहेरी दिएपछि बैतडी प्रहरीले सँगै गएकाहरुलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
बुडालसँगै पिकनिक गएका गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ।
राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल बिदामा घर आएका थिए। उनी साथी र इष्टमित्रहरुसँग शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक खान भन्दै सेरा हुँदै जाडाबगड पुगेका थिए। सेरासम्म म १ ज २२२ नम्बरको जिपमा गएको उक्त टोली त्यहाँबाट पैदलै जाडाबगरस्थित चौलानी किनार पुगेको थियो।
जाडाबगर एकान्त र सुनसान स्थल भएकाले पिकनिकका लागि धेरैले यो गन्तब्य रोज्ने गरेका छन्। माछा मार्दै पिकनिकमा रमाइलो गर्ने उद्धेश्यले बुडालसहितका १२ जना त्यहाँ पुगेका थिए।