धनगढीः सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ। मङ्गलवारदेखि प्रदेशका जिल्ला अस्पताल र अन्य अस्पतालमा टेलिमेडिसिन सेवा दिन थालिएको हो। सेती प्रादेशिक अस्पतालबाट भिडियो कन्फ्रेन्समार्फत चिकित्सक तथा विरामीलाई विशेषज्ञमार्फत स्वास्थ्य परामर्श, उपचार र निदानात्मक सेवा प्रदान गरिने छ। जसबाट सेतीको विशेषज्ञ सेवा भर्चुअल माध्यमबाट अन्य अस्पतालले प्राप्त गर्ने छन्।
भिडियो कन्फ्रेन्समार्फत सेतीका विशेषज्ञ चिकित्सकहरूले टेलिमेडिसिन सेवामार्फत उपचार परामर्श, रिपोर्ट परीक्षण, लक्षण र विरामीको अवस्थाको पहिचान गरेर जिल्लाका अस्पतालमा रहेका चिकित्सकलाई प्रभावकारी उपचार गर्न सहयोग गर्ने टेलिमेडिसिन सेवाका फोकल पर्सन वरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।
‘टेलिमेडिसिन सेवाबाट भर्चुअल माध्यमबाट अन्य अस्पतालमा विशेषज्ञ सेवा दिन सकिने छ’ उनले भने, ‘टेलिमेडिसिन सेवामा जोडिएका अस्पतालका चिकित्सकले लेखेर, बोलेर या भिडियो कन्फ्रेन्समार्फत विरामीको उपचारबारे सन्देश छोड्ने छन् भने सेतीका विशेषज्ञ डाक्टरहरूले तालिकाअनुसार अस्पतालबाट आएका समस्याको समाधान गर्ने उपाय बताउने छन्।’ टेलिमेडिसिन सेवा सञ्चालन भएपछि दुर्गम जिल्लाका विरामीले त्यहीँको अस्पतालमा सेती अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।