कैलाली-कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ६ घर भएकी आशा कुमारी चौधरी मंगलवार विहानै ७ बजे नास्ता नखाएर जिल्ला प्रहरी कार्यालय कैलालीको गेटमा पुगिन्।
उमेरले आशा कुमारी चौधरी १९ बर्षकी भईन्। उनी कुनै अन्य कामले भने हाईन् बसको २५० रुपैयाँ भाडा तिरेर स्थानीय तहको निर्वाचनका लागि सरकारले खुल्ला गरेको म्यादी प्रहरीको फाराम भर्न पुगेकी हुन्।
उनी विहानै जिल्ला प्रहरी कार्यालय पुगे पनि आवेदन फाराम भने विहान १० बजे लाईनमा लागेर पाईन्। तर जिल्ला प्रहरी कार्यालय कैलालीको परिसर भित्र गईन्।
फाराम बुझाउने पालो भने दिउसो साढे तीन बजे मात्र आयो। दिनभर खाना नखाएर भोक भोकै फाराम बुझाउनेहरु आशा मात्रै नभएर अन्य पनि थिए।
सुरक्षा निकायमा जागिर गर्ने रहर रहेको बताउँदै उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा म्यादी प्रहरीका लागि आवेदन दिएको बताइन्। उनी मात्रै होइनन् अन्य पनि जिल्लाका विभिन्न पालिकाबाट विहानै पुगेका थिए।
म्यादीबाट आउने तलब सुविधाले केही समय खर्च चल्ने आसले आफु भर्ना हुन आएको आशा चौधरीले बताईन्। ‘घरबाट पनि भर्ना हुन जान सहमति दिए,’ चौधरीले भने,‘अनुभव पनि होला भनेर आएँ।’
जिल्ला प्रहरी कार्यालय कैलालीमा म्यादी भर्ना आवेदन खुलेयता दैनिक ५०० देखि एक हजार आवेदनका लागि धाइरहेका छन्। आवेदनको फाराम लिन जिल्ला प्रहरी कार्यालय कैलाली मात्रै तोकिएकाले प्रहरीलाई भिड नियन्त्रण गर्न दिनभर हम्मे हम्मे हुने गरेको छ।
जिल्ला प्रहरी कार्यालय अगाडीमा मालबहाक देखि अन्य सवारी साधान चल्ने गरेका छन्। तर म्यादी भर्ना हुन आवेदन दिन आएकाहरु भने त्यही सडकमा चैत महिनाको टन्टलापुर घाममा बसेर फाराम बुझाउन बाध्य छन्।
मंगलबार दिउसो भिड अनियन्त्रीत भएपछि फाराम वितरण नै केही समयमा लागि रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीको अगाडी डियुटीमा खटिएका प्रहरी कर्मचारीको बोली र व्यवहार देखेर आवेदन दिनहरु समेत आक्रोसित बनेका थिए।
बाहिर गेटमा समेत फाराम लिनका लागि लाईनमा बस्नु पिडा एकातिर छ भने अर्कोतिर कार्यालय भित्र गएपछि घण्टौंपछि फाराम बुझाउनुपर्ने पीडा अर्कोतिर छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी भर्ना आवेदन खुला गरेसँगै कैलालीका ग्रामीण बस्तीबाट भर्नाका लागि सयौँ युवा, विद्यार्थी, कृषकदेखि गृहिणीसम्म आइरहेको प्रहरीले जनाएको छ।