आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आज नेपाल र घरेलु टोली युएईबीचको खेल । नेपाल र युएईबीचको खेल विहान पौने १२ बजेदेखि सुरुहुने छ । दुवै टिमले अहिलेसम्म २९–२९ खेल खेलेका छन् ।
आजको खेल दुवैको ३० औं खेल हो । आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ ।
युएईविरुद्धको खेल अघि १ अंकले पछि रहँदै छैटौं स्थानमा रहेको नेपाल विजयी भएमा उल्टै युएईलाई १ अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लने छ । शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिने भनिएकाले पनि यो सिरिज निकै महत्वपूर्ण रहेको छ ।
पछिल्लो समय उत्कृष्ट फर्मममा रहेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिन सके जित भने टाढा छैन् । काठमाडौंमा भएका सिरिजका ४ वटै र युएईमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध जित निकाल्दा लगातार ५ खेलमा अपराजित रहेको छ ।
उता, युएई भने नेपालसँगको खेलअघि पीएनजीसँग फराकिलो अन्तरले पराजित भएको छ । नेपाली टिममा स्टार लेगस्पिनर सन्दीप लामिछाने पनि समावेश भएकाले यसको सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । अदालती र आईसीसीको सम्पूर्ण प्रक्रिया पूरा गरेर बुधबार मात्रै सन्दी युएई पुगेका हुन् ।