काठमाडौं – अगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखी ४ अप्रिलसम्म हने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।
विश्वकप क्वालिफायर प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगताबाट शीर्ष दुई टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।
सुपर लिगको शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपका स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रूपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।
नेपालले अब बाँकी रहेका सबै प्रतियोगिता जितेमा जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछ । अन्यथा अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्छ ।
नेपाल २९ खेलबाट २८ अंक जोडेर छैटौँ स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको यूएई पाँचौँ स्थानमा छ । नेपालले २९ मध्ये १३ खेल जितेको छ भने १४ खेल हारेको छ । एक खेल नतिजाबिहीन र एक खेल ‘टाई’ भएको छ । यूएईले २९ मध्ये १३ खेल जितेको छ भने १३ मा हारेको छ । दुई खेल नतिजाबिहीन बनेको थियो भने एक खेल ‘टाई’ भएको थियो ।