काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका-५ का २७ वर्षीय कृष्णबहादुर गुरङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।
कृष्णले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।