काठमाडौँ – भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्याङ्करको डिजेलमा मिसावट पुष्टि भएको छ ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसावट गरिएको थियो भन्ने चाहिँ नखुलेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
निगमको केन्द्रीय ल्याबको रिर्पोटलाई आधार मानेर निगमले ती डिजेलको गुणस्तर परीक्षण भारतीय आयल कर्पोरेसन (आईओसी) मा गर्ने तयारी भइरहेको उपाध्यायले बताए ।
मिसावट पुष्टि भएपछि चार वटै ट्याङ्कर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको उपाध्यायले बताए । निगमको ढुवानी विनियमावली अनुसार कम्तीमा ६ महिनाका लागि इन्धन ढुवानी इजाजत निलम्बन गर्नेगरी कारबाही अघि बढेको निगमले जनाएको छ ।
गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्याङ्करको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि निगमले अनुसन्धान सुरु गरेको थियो । आईओसीको सिलिगुडी डिपोबाट लोड गरिएको मे.१ ख.२१४९, मे. १ ख. २१५१, ना.७ ख. १५०७ र ना.७ ख.६९७४ नम्बरको ट्याङ्करको डिजेलमा घनत्व कम भएको पाइएको थियो ।
आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा कम घनत्व रहेको पाइएको थियो ।